रेसुङ्गा बहुमुखी क्याम्पसको विशेष साधारणसभा सम्पन्न

विगत ४२ वर्ष अघि स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पसको विशेष साधारण सभा सम्पन्न भएको छ । तत्कालिन समयमा बनाइएको क्याम्पस सञ्चालन नियमावली–२०४७ का केही प्रावधानहरुमा समयानुकुल संशोधन र परिमार्जन गर्नुपर्ने आवश्यकता र त्रिभुवन विश्वविद्यालयको परिपत्र अनुसार उक्त नियमावली संशोधन गरिएको छ । क्याम्पस सभासद श्री छविलाल पन्थीको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन उपसमितिले नियमावलीको गहन अध्ययन गरी तयार गरेको संशोधन मस्यौदा माथि सभासदहरुले दफावार छलफल गरी आवश्यक सल्लाह सुझाव प्रस्तुत गरेका थिए । उक्त सभाबाट क्याम्पस सञ्चालनमा सहज हुनेगरी विद्यमान नीतिगत व्यवस्थाहरुका केही दफाहरुका उल्लेखित व्यवस्थामा संशोधन गरिएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षता र नगरप्रमुख श्री खिलध्वज पन्थीको प्रमुख आतिथ्यता र पुर्व सञ्चालक भुवनप्रसाद श्रेष्ठको आतिथ्यतामा साधारण सभा सम्पन्न भएको छ । सभामा स्वागत मन्तव्य सञ्चालक श्री यज्ञप्रसाद पन्थीले गर्नुभएको थियो भने सभा संचालन क्याम्पसप्रमुख श्री हरिबहादुर खत्रीले गर्नुभएको थियो । सभामा क्याम्पसका संस्थापक, अतिविशिष्ट, विशिष्ट र आजीवन सदस्यहरु र प्राध्यापक तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।